Wednesday, 24 August 2016

श्रृष्टी,,

''श्रृष्टी COPY BY, Man Bahadur Rai facebook 
किराती मुन्दुम अनुसार धेरै पहिले यो ब्रम्हाण्ड शुन्य मात्र थियो । त्यो शुन्यलाई किरातीहरुले आकास पनि भन्ने गरेका छन् । त्यो आकास अचानक फुटेर जता ततै पानी नै पानी बन्यो । यसरी पहिलो चोटी यो संसार पानी नै पानीको महासागर बन्यो । यो श्रृष्टी बृतान्त आधुनिक बिज्ञानले मान्ने गरेको श्रृष्टी संबन्धि महाबिष्फोट परिघट्नासंग केहि हदसम्म मेल खान जान्छ । हाम्रा पिता पुर्खाहरु बैज्ञानिक भएरै महाबिष्फोट संग मिल्ने गरी श्रृष्टी बृतान्त अबश्य पनि बिकास गरेका होइनन् तर हजारौं बर्षको चिन्तन र अनुभब जन्य ज्ञानको कारण उनीहरुले बिशाल आकास बाट नै धर्ती सुरु भएको हुनु पर्छ भन्ने लख काटेको हुनु पर्दछ । महाबिष्फोट संग मिल्न जानु एक संयोग हुन सक्दछ । मुन्दुम बिकासको बेला आदिम भौतिकबादको समय थियो जहाँ कुनै इश्वरीय परिकल्पना थिएन । शक्तिको स्रोत नै पितृ र प्रकृति भन्ने मान्यता थियो । पितृ पुर्खाहरुको कारणले मानब जीबन छ र प्रकृतिको कारणले जगत छ भन्ने आम मान्यता थियो । त्यसैले पनि किराती पितृहरु भन्दा पनि शक्तिशाली प्रकृतिबाट जीबन र जगतको श्रृष्टी भएको होे भन्ने किराती पुर्खाहरुले मान्नु युक्ति संगत देखिन्छ । कतिपय किरातीहरुको श्रृष्टी कथा शुन्यबाट सुरु हुन्छ भने अन्यको हकमा तल बताइए जसरी महासागरबाट सुरु हुन्छ । 
किराती मुन्दुम अनुसार धेरै पहिला पृथ्बी जताततै पानी नै पानी थियो । कहिं पनि जमीनको भाग थिएन । जमीन नभए पछि मानिस लगायत कुनै थलचरहरु पनि थिएनन् । पानी नै पानी भएको महासागरमा हावाको कारण लगातार छालहरु चलिरहन्थ्यो । कतै समुन्द्रको छाल अजिंगर र नागहरुले बनाएको भन्ने गर्छन् । त्यसको मतलब जमीन र मानब उत्पिति अघि जीबहरु थियो भन्ने अर्थ लाग्दछ । ती छालहरुको कारण पानीको सतहमा फिंजहरु उत्पन्न भयो । लगातारको छालले गर्दा ठुलो मात्रामा सागरै भरी फिंज उत्पन्न भयो । त्यो छाल र फिंज उत्पन्न हुने क्रम लामो समयसम्म जारी रह्यो । यसरी उत्पन्न भएको फिंजहरु एक अपसमा मिली अर्धठोस हुँदै ठोस पदार्थमा परिणत भयो । उक्त पदार्थ कडा बन्ने क्रममा दर्शन ढुंगा बन्न पुग्यो । यसरी समुद्र माथि थुप्रै दर्शन ढुंगाहरु तयार भयो । यसरी बनेको दर्शन ढुंगाहरुको चेपमा रहेको अर्धठोस फिंजहरुमा पहिलो बनस्पतिको रुपमा उन्यु पलायो । यसरी उन्यु पलाउने, बढ्ने, मर्ने र कुहिने क्रम लामो समय सम्म जारी रहँदा कुहेको उन्युको ठुलो थुप्राहरु तयार भए । ती थुप्राहरुमा पहिलो प्राणी धमिराहरु उत्पन्न भयो । धमिराहरुले मरेका उन्युहरु, पानीको फिंजहरु र दर्शन ढुंगाहरुबाट माटो बनाए । त्यो माटोबाट धमिराहरुले ठुला ठुला माटाका ढिकुरोहरु बनाए । यसरी पानी नै पानी भएको पृथ्बीमा ढुंगा र माटो सहितको जमीन तयार भयो । ती माटोको ढिकुरोहरुमा निभु च्याउ पलायो । ती निभु च्याउहरु पलाउने, बढ्ने, मर्ने र कुहिने क्रम जारी रह्यो । यसै क्रममा कुहिएको निभु च्याउहरुबाट खुम्ले किराहरु उत्पन्न भए । कालान्तरमा ती नै खुम्ले किराहरु मध्ये एक बाट श्रृष्टीकी पहिलो महिला रिभ्याँमा दिदी र पहिलो पुरुष रिकापा भाईको रुपमा उत्पन्न भए । यसरी मुन्दुम अनुसार किराती पुर्खाहरुको उत्पति भएको थियो । यो प्रकृया पुरा हुन हजारौं लाखौं बर्ष लागेको हुनु पर्दछ । रिभ्याँमा र रिकापाको उत्पति हुँदासम्म यसै प्रकृयाबाट श्रृष्टी अघि बढि बन, जंगल, खोला नाला, भिर पाखा, जीब जन्तुहरु बनि सकेको हुन पर्दछ । 
माथिको कथनबाट पनि किरातीहरुको जीबन र जगतको श्रृष्टीबारे मान्यता आदिम भोतिकबादी प्रकारको छ । त्यहाँ कुनै पनि प्रकारको आकस्मिकता वा अलौकिकता छैन भलै श्रृष्टीको क्रमको कडिहरु भने टुटेका छन् । यसरी किराती जगत र जीबनको श्रृष्टी संबन्धि अबधारणा चाल्र्स डार्बिनको बिकासबादसंग पनि केहि हदसम्म मेल खान जान्छ । तर पानीबाट अर्धठोस फिंज, त्यसबाट ठोस ढुंगाको उत्पति, निर्जीबबाट सामान्य सजीब बनस्पती उन्यु, अनि साधरण जीब धमिरा हुँदै बिशिष्ट जीब मानबसम्म आउँदा बिकासबादको क्रम मिलेको छ तर बीच बीचको कडीहरु भने टुटेका छन् । जस्तै सामुद्रिक बनस्पतिहरु नभै एकै चोटी उन्यु उत्पती हुनु, एक कोषिय जीबहरु उत्पती नभै धमिरा उत्पती हुनु, खुम्ले किराबाट मानब उत्पती हुनु । रिकापा र रिभ्याँमा पहिलो किराती पुर्खाहरु भए पनि पहिलो मानबहरु होइनन् भन्ने अनुमान काल बिश्लेषणबाट गर्न सकिन्छ । सुन्दा असंगत लागे पनि किराती श्रृष्टी कथामा बिकासबाद संग मिल्ने गरेर तादम्यता छ भलै केहि कडीहरु टुटेका छन् । किराती पुर्खाहरुको पुस्तौं पुस्ता मौखिक रुपमा पुस्तान्तरण भएको अनुभब जन्य ज्ञानमा केहि कडीहरु टुट्नु स्वाभाबिक हो । यस प्रकारको अनुभब जन्य प्राचीन ज्ञानको भण्डार मुन्दुममा जीबन र जगत संबन्धि प्राग ऐतिहासिक भौतिकबादले यति सुन्दर ढंगले निरन्तरता पाउनु नै ऐतिहासिक, प्राज्ञिक, पुरातात्वीक, साँस्कृतिक महत्व हो । समयको कारण तथा ज्ञानहरुको सीमाको कारण नै यस्ता बिकासबादको केहि कडीहरु टुटेका हुन् जुन स्वभाबिक छ । 
रिभ्याँमा र रिकापा मैदानी भुगोल नियामामा पैदा भएका थिए । नियामा भनेकै महासागरमा बनेको माटो र ढुंगाको जमीन हो । मुन्दुमले नियामा भनेर बंगालको खाडी छेउछाउ देखि गंगाको मैदानको सम्म भुभागलाई इंगित गरेको देखिन्छ । त्यो स्वभाबिक पनि हो किनकि रिभाँमा र रिकापा बंगालकै खाँडी वरी परि उत्पन्न नभए पनि किरातीहरुले समुन्द्र देखेकै बंगालको खाडीमा हुनु पर्दछ । यस प्रकारको बिशाल आकास र समुद्र नै श्रृष्टीको स्रोतको हो भन्ने अबधारणा यसै कारण उत्पन्न भएको हुनु पर्दछ । कतिपय मुन्दुम अध्येताहरुले नियामा भनेको चीनको सिन्जियाङ प्रान्तको निया भन्ने स्थान हुनसक्छ भनी लख काटेका छन् तर यस बारे अरु अनुसन्धान आबश्यक छ । पश्चिमी बैज्ञानिकहरुले मानिसहरु १ लाख बर्ष अघि पुर्बी अफ्रिकाबाट फैलिएको हो भन्ने भनाई संग यसले मेल खान सक्दछ तर नियामा बारेको मुन्दुमी संकेत तेस्तो देखिन्न । फेरी तेति लामो यात्रामा निया संबन्धि स्मरण किराती पुर्खाहरुमा बाँची रह्यो भन्न गाह्रो छ । नेपालकै बुटवलको तिनाउ खोलामा ११ लाख बर्ष पुरानो प्राग ऐतिहासिक मानबको अबशेष भेटिनुले सबै मानिसहरु पुर्बी अफ्रिका बाटै बसाई सरेको हो भन्ने मान्यतामा प्रश्न चिन्ह खडा हुन्छ । इथियोपियामा भेटिएको मानबाबशेष १७ लाख बर्ष पुरानो हो भने नेपालमा भेटिएको आजसम्म भेटिएको बिश्व कै दोस्रो पुरानो मानबाशेष हो । मानिसहरुले यो मानबाशेष राउटे, चेपाङ, किराती लगायतमा आदिम जातीको हुन सक्ने अनुमान लगाएका छन् । २२,००० बर्ष पुराना प्राग ऐतिहासिक ढुंगे हतियारहरु चुरे पहाड तिर भेटिएको छ । यसले पनि नेपाली भुखण्डमा धेरै अघि देखि मानब बसोबास थियो र किरातीहरु यहि भुमीमा उत्पती भएको तिर इंगित गर्दछ । 
रिभ्याँमा र रिकापाले आफ्नो बाल्यकाल शिकार, माछा र कन्दमुलहरु खाँदै त्यहि नियामामा बिताए । बाल्यकालको उत्तरार्धमा भने दिदी रिभ्याँमालाई एक्लै छाडि रिकापा पहाडतिर उक्लियो र त्यहि बस्न थाले । रिकापा पहाड चढी बसेको त्यो स्थान नै साल्पा पोखरी र सिलिचुङ क्षेत्र थियो । यसरी रिभ्याँमा मैदानमा र रिकापा पहाडमा खेल्दै खाँदै हुर्किए र जवान भए । यसरी एक्लै मैदानमा डुली हिडेको जवान रिभ्याँमालाई एक दिन बिहे गर्ने कुरा मनमा आयो । उनी बसेको मैदानतिर मानिसहरुको कुनै उपस्थिति थिएन । उनको साथी, समाज र इष्टमित्र भनेको नै जीब जन्तु तथा पंक्षिहरु थिए । यसरी अफुलाई सुहाउदो पुरुष मानिस कहाँ पाइएला भनी धेरै दिन सोंच बिचार गर्दा कतै केहि पत्तो लागेन । अन्ततः उनले यस बिषयमा कसै संग कुरा गर्ने निधो गरिन् । एक दिन रिभ्याँमाले तारे चरा खोलै खोला तिउँ तिउँ कराउदै उड्दै गरेको देखिन् । अनि त्यहि तारे चरालाई बोलाई कुरा गरिन् । “तारे चरा म अब जवान युबती भएँ । बिहे गरी घरजम बसाउने रहर लागेको छ । तिमीले कतै मलाई सुहाउने जवान युवा बारे थाहा पाएका छौ ?” तारेचराले भने, “बजै त्यस्तो जवान युवा त मैले कतै देखेको छैन तर माथि लेक तिर एक जना छन् अरे भन्ने चै सुनेको छु । सत्य कुरा के हो त्यो चै थाहा छैन ।” “त्यसो भए लेकतिर गएर त्यो युवालाई भेटी फकाएर मेरो श्रीमान् बन्न लिएर आइदेउ है ।” भनी रिभ्याँमाले तारेचरालाई अनुरोध गरिन् । तारेचराले पनि यो प्रस्ताबलाई स्विका¥यो । मुन्दुममा इतिहास कालमा ढुंगा माटो, बन पाखा, बोट बिरुवा, जीब जनावार सबै बोल्दथे भन्ने बिश्वास छ । आज पनि किरातीहरु सबै सजिब र निर्जिब चिजहरुमा जीबन छ भन्ने मान्दछन् र प्रत्येक चिजको आफ्नो बिशिष्ट ब्याक्तित्व सहित अस्तित्व छ । सबै बस्तुले केहि न केहि बिचार ब्याक्त गरिरहेको हुन्छ । यहाँ यहि मान्यताको साथ नै तारे चरा रिभ्याँमाको लमी भएको भन्ने प्रसंग आएको हुनु पर्दछ । 
रिभ्याँमाले तारे चरालाई लमीको रुपमा मान मनितो गरी निधारमा एउटा ढ्याके पैसा लागाइ दिएर लेक तिर पठाइन् । त्यसैले तारेचराको निधारमा आज पनि ढ्याके पैसाको तारा रहेको बिश्वास गरिन्छ । यहाँ ढ्याके पैसाको चर्चाले पैसा भएको जमाना तिर इंगित गर्छ । यस भेगमा पैसाको प्रचलन २५०० बर्ष अघि तिर भएको पाइन्छ तर किराती बंशावलीलाई नियाल्ने हो भने रिकापाको समय ५००० बर्ष अघिको प्रतित हुन्छ । यसले गर्दा कि रिकापाको समयामा पनि पैसाको प्रचलन थियो भन्ने मान्नु पर्ने हुन्छ कित मौखिक रुपमा भन्दै आएको मुन्दुम श्रृष्टी पैसाको अबिष्कार भए पछि प्रभाबित भएको हुनु पर्दछ । तारे चरा खोलै खोला लेक तिर लाग्यो र खोलाको शीर सम्म पुग्यो तर कतै त्यो युबा मानिसलाई भेटेन । पानी भएको खोलै खोला हिड्ने तारेचरा खोलामा पानी नभए पछि त्यहाँ भन्दा माथि जान सकेन । त्यस पछि फिरेर खोलाको शीर सम्ममा पनि युबा मानिसलाई नभेटेको खबर रिभ्याँमालाई सुनाइन् । अब के गरौं कसो गरौं भनि रहेको बेला रिभ्याँमाले एउटा गंगटा गंगरङ गंगरङ हिड्दै गरेको देखिन् । अनि गंगटालाई बोलाएर भनिन्, “तारेचरालाई समाचारी लमी बनाएर माथि लेक तिर बर खोज्न पठाएको तर खोलाको शीर भन्दा माथि जान नसकेर फर्कि आयो । अब फेरी तिमी दुबै जना केटा र केटी पटिको लमीको रुपमा लेक गई त्यो मानिसलाई लिएर आऊ ।” गंगटाले पनि त्यो प्रस्ताब स्विका¥यो । यसरी गंगटालाई पनि लमीको सम्मान स्वरुप औंठी लगाइदिएर दुबैलाई लेक तिर पठाइन् । त्यसैले गंगटाको औंलामा आज पनि औंठी देखिन्छ । त्यो त्यसैबेलाको औंठी हो भन्ने मान्यता छ । यहाँ औठीको उल्लेख हुनुले धातुको प्रचलन भैसकेको युग भन्ने अर्थ लाग्दछ भलै गैर धातुको समेत औंठी नहुने चै होइन ।
गंगटा र तारेचरा खोलाको शीर सम्म त संग संगै पुगे तर त्यहाँ भन्दा माथि पानी नहुँदा तारेचरा अघि बढ्न सकेन । गंगटा भने कोतर्दै कोतर्दे माथि माथि चढ्न थाल्यो । जहाँ जहाँ पानी भेटियो त्यहाँ त्यहाँ कोतर्दै पानी खोल्सी तिर फर्काउदै गंगटा माथि चढ्थ्यो । पानी आए पछि तारे चरा पनि पानी पछ्याउदै माथि चढ्यो । यसरी अन्ततः उनीहरु त्यो युबा मानिस भएको ठाउँमा पुगे । त्यो ठाउँ अबश्य नै साल्पा सिलिचुङ थियो । त्यो युवा मानिस अरु कोहि नभई रिकापा नै थिए । गंगटा र तारेचराले आफुहरु रिभ्याँमाको कुरा लिएर लमीको रुपमा आएको बृतान्त रिकापालाई सुनायो । रिकापाले पनि लमीहरुको कुरा मान्यो र तल बेसिं मैदानमा उनीहरु संगै झ¥यो । यसरी गंगटाले खोल्सी कोतर्दे संभबत साल्पा पोखरीको पानी तारे चराको निम्ति पठाइदिएको थियो होला ।
मैदानमा रिकापा र रिभ्याँमाको बोल बात भयो । कुरा छिनियो र दुबैले राजी खुसी जोडी बाधे । उनीहरुले गंगटा र तारेचराको शिर उभ्याउनी रीत गरी बिदा गरे । तर गंगटालाई सिर उभ्याउनी चित्त बुझेन र रोरे गरिरह्यो । त्यसैले उसलाई शिर उभ्याउनीमा थप एउटा खड्कुलो दिए । गंगटाले खड्कुलो ढाडमा बोकेर लाँदै गर्दा पनि चित्त नबुझेको झैं गरी ढुंगोको चेप भित्र पस्दै गरेको रिभ्याँमाले देखिन् । यसरी सारै सशन्तोष गरेको देखेर रिभ्याँमाले गंगटालाई दाउराले ढाडमा घोचि दिइन् । यसले गर्दा ढाडमा बोकेको खडकुलो कुच्चियो । आज पनि गंगटाको ढाडमा भएको खबटामा कुच्चिएको देखिन्छ । त्यो त्यसै घट्नाको परिणाम भन्ने मानिएको छ । गंगटाको खबटा चैं रिभ्याँमा र रिकापाले थप दिएको शिर उभ्याउनीको खड्कुला हो भनिन्छ । यसरी प्रत्येक चिज किन कसरी भयो भन्ने बारेमा किरातीहरुको आफ्नो छुट्टै मिथक हुने गरेको छ । कारण र असरको दार्शनिक मान्यता किराती मुन्दुमामा पाइन्छ । यहाँ फेरी धातुको नै खड्कुला समेत प्रयोग भएकोले यो अबश्य पनि धातुको युग थियो । गंगटालाई प्रतिकात्मक रुपमा लमीको रुपमा लिइएको हुनु पर्दछ । साल्पा सिलिचुुङ जस्तो लेकमा गंगटाले खनेर मात्र पानी उब्जाउन सक्दछ भन्ने किराती पुर्खाहरुको अनुमान हुन सक्दछ ।
यसरी जोडी बाँधेको गरेको केहि बर्ष पछि उनीहरुको एक छोरी पैदा भइन् । रिभ्याँमा नानासंग सुतेर जन्मेको हुनाले छोरीको नाम नाइम्मा भएको भनाइ पनि छ । नाइम्मालाई नै सुम्निमा वा सुम्दिमा पनि भन्ने गरिएको छ । एक दिन रिभ्याँमा पानी लिन गएर घर फिर्दै थिइन् । रिकापा भने नानी खेलाउदै थिए । रिभ्याँमा घर बाहिर आइपुग्दा रिकापाले छारीलाई, “तिमी एक हिसाबले मेरो छारी हो, अर्को हिसाबले भन्जी हो ।” भन्दै खेलाउदै गरेको कुरा सुनिन् । यस्तो कुरा सुनेर रिभ्याँमा छक्क परिन् । घर भित्र गएर छोरीलाई किन भान्जी पनि हो भनेको भनेर केर कार गरिन् । तर रिकापाले होइन केहि पनि होइन भनी टारि रह्यो । रिभ्याँमाले जिद्धी गर्न थाले पछि उनी उठेर जंगल तिर हिड्यो । बास्तबमा रिभ्याँमा र रिकपा दिदी भाई थिए । त्यो हिसाबले नाइम्मा रिकापाको भन्जी पनि थियो छोरी पनि थियो । यो कुरा रिकापालाई थाहा थियो तर रिभ्याँमालाई भने उनीहरु दिदी भाई हो भन्ने कुरा थाहा थिएन । उनलाई आफ्नो भाई कहाँ कसो भयो थाहा थिएन । रिकापा अरु नै पुरुष हुनु पर्छ भन्ने उनको ठम्याई थियो । यसरी आफ्नै सहोदर दिदीसंग थाहा पाई पाई संगसर्ग गरेको लाज गालको कारण रिकापा जंगल तिरै बँदेलको चोला लिएर अलप भए । यसरी आदिकालमा किराती मात्र होइन सबै मानब जातीहरु परिवार भित्रै बिहेबारी गर्दथे भन्ने प्रमाण मिल्दछ । यसै अबशेषको रुपमा मामा चेला फुपु चेला बिहेबारी हुने चलन कतिपय नेपाली समुदायमा अझै पनि छ ।
यसरी रिकापा अलप भए पछि रिभ्याँमाले जेन तेन नाइम्मालाई हुर्काउदै पतिको प्रतिक्षा गर्न थालिन् । नजिकैको जंगलमा कागुनी लगाएकी थिइन् तर संधै एउटा बंदेल आएर कागुनी नष्ट गर्ने काम गर्दथ्यो । यसबाट दिक्दार भएर एक दिन पासो थापेर आइन् । भोली गएर हेर्दा पासोमा बंदेल परेर मरेको रैछ । त्यस बदेललाई घर ल्याई बनाई तुल्याई रिभ्याँमाले खाइन् । हड्डी कुड्डी पाखा तिर फालिदिइन् । बाँकी रहेको आन्द्रालाई बनाई तुल्याई भारमा सुकाइन् । खेती पातीको प्रचलन हलेशीमा रैछाकुले सुरु गरेको भन्ने भनाई छ । यो परिघट्ना रैछाकुले भन्दा अघिको हो । त्यसैले त्यो भन्दा अघि पनि अब्याबस्थितै सहि खेती लाउने प्रचलन सुरु भएको अनुमान लाउन सकिन्छ । 
एक दिन सुकाएको आन्द्राबाट सलपाको रुपमा रिकापा प्रकट भयो । रिकापालाई देखेर रिभ्याँमा खुसी भइन् र कहाँ कता अलप भएको भनी सोधि खोजी गरिन् । रिकपालाई बंदेलले गरेको सबै उधुम बारे बताइन् र बंदेललाई मारेर खाएको बृतान्त सुनाइन् । तब रिकपाले त्यो बंदेल अफु भएको र रिभ्याँमाले आफ्नै लोग्नेको मासु खाएको बतायो । यो सुनेर रिभ्याँमा अक्क न बक्क भइन् र भारमा सुकाई राखेको बंदेलको आन्द्रालाई फलिदिइन् । यसरी बंदेलको आन्द्राबाट किराती आदी पिता रिकपा सालपाको रुपमा प्रकट भएको हुनाले किरातीहरुले सुंगुरको आन्द्रा खाँदैनन् । पहिले रिकापा र रिभ्याँमा माइती चेली भएको र अब सालपाको रुप धारण गरे पछि कुटुम्बेरी भएको भन्ने कुरा सालपाले रिभ्याँमालाई बतायो । यस भन्दा अघि परवार भित्रै संगसर्ग गर्ने प्रचलन भएकोमा सालपाको पाला देखि कुटुम्बेरी बीचमा मात्र यौन सम्बन्ध राख्ने बिबाह र परवारको प्ररम्भिक चरण सुरु भएको हुनु पर्दछ । किरातीहरुमा कुटुम्बेरी छुट्याउन सामै तथा पाछा छुट्याउने प्रचलन पनि यहिं परिघटनाको निरन्तरता हुनु पर्दछ । यसरी रिकापाको अर्को नाम नै सालपा हो । सालपा र रिभ्याँमा लाई नै अपभ्रंश बस साल्पै राजा साल्पै रानी भनिएको हो । यसै भएकोले साल्पा सिलिचुङ किराती श्रृष्टीको केन्द्र हो । उनीहरुको नाममा नै पोखरीको नाम साल्पा रहन गएको हो । रिभ्याँमालाई कतै रिबृमा र कतै रिब्लिमा पनि भन्ने गरिएको छ ।



No comments:

Post a Comment