किराती श्रृष्टी केन्द्र ः साल्पा सिलिचुङ
परिचय copy by, Man Bahadur Rai Fecebook
साल्पा पोखरी र सिलिचुङ किराती श्रृष्टीसंग जोडिएको प्राचीन ऐतिहासिक, साँस्कृतिक, पर्याबरणीय तथा पर्याटकिय स्थान हो । साल्पा पोखरी र सिलिचुङ भोजपुर जिल्लाको दोभाने गाबिसको वडा नम्बर ८ मा पर्दछ । यो क्षेत्र भोजपुर, सोलुखुम्बु, संखुवासभा र खोटाङ जिल्लाको संगम स्थल हो । साल्पा पोखरीको उचाई ३४३० मिटर हो भने सिलिचुङको ४१५५ मिटर । साल्पा पोखरीको अक्षांश २७.४४६ डिग्री उत्तर र देशान्तर ८६.९३४ डिग्री पुर्ब रहेको छ । यस स्थान संग किरातीहरुको श्रृष्टी जोडिएको हुनाले यो किराती श्रृष्टी केन्द्र हो । यसको महिमा किरातीहरुमा मात्र होइन गैर किरातीहरु र बिदेशीहरुमा समेत छ । अतः हजारौं किराती, गैर किराती तथा बिदेशी साँस्कृतिक तथा प्राकृतिक पर्याटकहरु सालना यहाँ आउने गर्दछन् । यसको साँस्कृतिक, पर्याबरणीय, ऐतिहासिक तथा पर्याटकीय महत्व उच्च छ । त्यसैले यसको बिकास र प्रबर्धन गर्न आबश्यक छ । यसै बिषयलाई दृष्टीगत गरी साल्पा सिलिुङसंग सम्बन्ति किराती श्रृष्टी, साल्पा सम्बन्धि मिथक, यसको महिमा र महत्व बारे यहाँ प्रकाश पार्ने कोशिस गरिएको छ ।
श्रृष्टि
किराती मुन्दुम अनुसार धेरै पहिले यो ब्रम्हाण्ड शुन्य मात्र थियो । त्यो शुन्यलाई किरातीहरुले आकास पनि भन्ने गरेका छन् । त्यो आकास अचानक फुटेर जता ततै पानी नै पानी बन्यो । यसरी पहिलो चोटी यो संसार पानी नै पानीको महासागर बन्यो । कहिं पनि जमीनको भाग थिएन । जमीन नभए पछि मानिस लगायत कुनै थलचरहरु पनि थिएनन् । पानी नै पानी भएको महासागरमा हावाको कारण लगातार छालहरु चलिरहन्थ्यो । ती छालहरुको कारण पानीको सतहमा फिंजहरु उत्पन्न भयो । लगातारको छालले गर्दा ठुलो मात्रामा सागरै भरी फिंज उत्पन्न भयो । त्यो छाल र फिंज उत्पन्न हुने क्रम लामो समयसम्म जारी रह्यो । यसरी उत्पन्न भएको फिंजहरु एक अपसमा मिली अर्धठोस हुँदै ठोस पदार्थमा परिणत भए । उक्त पदार्थ कडा बन्ने क्रममा दर्शन ढुंगा बन्न पुग्यो । यसरी समुद्र माथि थुप्रै दर्शन ढुंगाहरु तयार भयो । यसरी बनेको दर्शन ढुंगाहरुको चेपमा रहेको अर्धठोस फिंजहरुमा पहिलो बनस्पतिको रुपमा उन्यु पलायो । यसरी उन्यु पलाउने, बढ्ने, मर्ने र कुहिने क्रम लामो समयसम्म जारी रहँदा कुहेको उन्युको ठुला थुप्राहरु तयार भए । ती थुप्राहरुमा पहिलो प्राणी धमिराहरु उत्पन्न भयो । धमिराहरुले मरेका उन्युहरु, पानीको फिंजहरु र दर्शन ढुंगाहरुबाट माटो बनाए । त्यो माटोबाट धमिराहरुले ठुला ठुला माटाका ढिकुरोहरु बनाए । यसरी पानी नै पानी भएको पृथ्बीमा ढुंगा र माटो सहितको जमीन तयार भयो । ती माटोको ढिकुरोहरुमा निभु च्याउ पलायो । ती निभु च्याउहरु पलाउने, बढ्ने, मर्ने र कुहिने क्रम जारी रह्यो । यसै क्रममा कुहिएको निभु च्याउहरुबाट खुम्ले किराहरु उत्पन्न भए । कालान्तरमा ती नै खुम्ले किराहरुबाट श्रृष्टीकी पहिलो किराती महिला रिभ्याँमा दिदी र पहिलो किराती पुरुष रिकापा भाईको रुपमा उत्पन्न भए । यसरी मुन्दुम अनुसार किराती पुर्खाहरुको उत्पति भएको थियो । यसरी किराती आदी पुर्खाहरु उत्पती भएको भुभाग सम्म परेको नियामा भन्ने ठाउँ थियो ।
टिप्पणीः
यो श्रृष्टी बृतान्त आधुनिक बिज्ञानले मान्ने गरेको श्रृष्टी संबन्धि महाबिष्फोट परिघट्नासंग केहि हदसम्म मेल खान जान्छ । हाम्रा पिता पुर्खाहरु बैज्ञानिक भएरै महाबिष्फोट संग मिल्ने गरी श्रृष्टी बृतान्त अबश्य पनि बिकास गरेका होइनन् तर हजारौं बर्षको चिन्तन र अनुभब जन्य ज्ञानको कारण उनीहरुले बिशाल आकास बाट नै धर्ती सुरु भएको हुनु पर्छ भन्ने लख काटेको हुनु पर्दछ । महाबिष्फोट संग मिल्न जानु एक संयोग हुन सक्दछ । मुन्दुम बिकासको बेला आदिम भौतिकबादको समय थियो जहाँ कुनै इश्वरीय परिकल्पना थिएन । शक्तिको स्रोत नै पितृ र प्रकृति भन्ने मान्यता थियो । पितृ पुर्खाहरुको कारणले मानब जीबन छ र प्रकृतिको कारणले जगत छ भन्ने आम मान्यता थियो । त्यसैले पनि किराती पितृहरु भन्दा पनि शक्तिशाली प्रकृतिबाट जीबन र जगतको श्रृष्टी भएको होे भन्ने किराती पुर्खाहरुले मान्नु युक्ति संगत देखिन्छ ।
कतिपय किरातीहरुको श्रृष्टी कथा शुन्यबाट सुरु हुन्छ भने अन्यको हकमा महासागरबाट सुरु हुन्छ ।कतै समुन्द्रको छाल नागहरुले बनाएको भन्ने गर्छन् । त्यसको मतलब जमीन र मानब उत्पिति अघि जीबहरु थियो भन्ने अर्थ लाग्दछ । यो प्रकृया पुरा हुन हजारौं लाखौं बर्ष लागेको हुनु पर्दछ । रिभ्याँमा र रिकापाको उत्पति हुँदासम्म यसै प्रकृयाबाट श्रृष्टी अघि बढि बन, जंगल, खोला नाला, भिर पाखा, जीब जन्तुहरु बनि सकेको हुन पर्दछ ।
माथिको कथनबाट पनि किरातीहरुको जीबन र जगतको श्रृष्टीबारे मान्यता आदिम भौतिकबादी प्रकारको छ । त्यहाँ कुनै पनि प्रकारको आकस्मिकता वा अलौकिकता छैन भलै श्रृष्टीको क्रमको कडिहरु भने टुटेका छन् । यसरी किराती जगत र जीबनको श्रृष्टी संबन्धि अबधारणा चाल्र्स डार्बिनको बिकासबादसंग पनि केहि हदसम्म मेल खान जान्छ । पानीबाट अर्धठोस फिंज, त्यसबाट ठोस ढुंगाको उत्पति, निर्जीबबाट सामान्य सजीब बनस्पती उन्यु, अनि साधरण जीब धमिरा हुँदै बिशिष्ट जीब मानबसम्म आउँदा बिकासबादको क्रम मिलेको छ तर बीच बीचको कडीहरु भने टुटेका छन् । जस्तै सामुद्रिक बनस्पतिहरु नभै एकै चोटी उन्यु उत्पती हुनु, एक कोषिय जीबहरु उत्पती नभै धमिरा उत्पती हुनु, खुम्ले किराबाट मानब उत्पती हुनु । यो समयको प्राचीनता र ज्ञानको सिमितताले हुन गएको हो । रिकापा र रिभ्याँमा पहिलो किराती पुर्खाहरु भए पनि पहिलो मानबहरु होइनन् भन्ने अनुमान काल बिश्लेषणबाट गर्न सकिन्छ । सुन्दा असंगत लागे पनि किराती श्रृष्टी कथामा बिकासबाद संग मिल्ने गरेर तादम्यता छ भलै केहि कडीहरु टुटेका छन् । किराती पुर्खाहरुको पुस्तौं पुस्ता मौखिक रुपमा पुस्तान्तरण भएको अनुभब जन्य ज्ञानमा केहि कडीहरु टुट्नु स्वाभाबिक हो । यस प्रकारको अनुभब जन्य प्राचीन ज्ञानको भण्डार मुन्दुममा जीबन र जगत संबन्धि प्राग ऐतिहासिक भौतिकबादले यति सुन्दर ढंगले स्थान पाउनु नै यसको ऐतिहासिक, प्राज्ञिक, पुरातात्वीक, साँस्कृतिक महत्व हो । समयको प्राचीनता कारण तथा ज्ञानहरुको सीमाको कारण नै यस्ता बिकासबादको केहि कडीहरु टुटेका हुन् जुन स्वभाबिक छ ।
मुन्दुम अनुसार रिभ्याँमा र रिकापा मैदानी भुगोल नियामामा पैदा भएका थिए । नियामा भनेकै महासागरमा बनेको माटो र ढुंगाको जमीन हो । मुन्दुमले नियामा भनेर बंगालको खाडी छेउछाउ देखि गंगाको मैदानको सम्म भुभागलाई इंगित गरेको देखिन्छ । त्यो स्वभाबिक पनि हो किनकि रिभ्याँमा र रिकापा बंगालकै खाँडी वरी परि उत्पन्न नभए पनि किरातीहरुले समुन्द्र देखेकै बंगालको खाडीमा हुनु पर्दछ । यस प्रकारको बिशाल आकास र समुद्र नै श्रृष्टीको स्रोतको हो भन्ने अबधारणा यसै कारण उत्पन्न भएको हुनु पर्दछ । कतिपय मुन्दुम अध्येताहरुले नियामा भनेको चीनको सिन्जियाङ प्रान्तको निया भन्ने स्थान हुनसक्छ भनी लख काटेका छन् तर यस बारे अरु अनुसन्धान आबश्यक छ । पश्चिमी बैज्ञानिकहरुले मानिसहरु १ लाख बर्ष अघि पुर्बी अफ्रिकाबाट फैलिएको हो भन्ने भनाई संग यसले मेल खान सक्दछ तर नियामा बारेको मुन्दुमी संकेत त्यस्तो देखिन्न । फेरी तेति लामो यात्रामा निया संबन्धि स्मरण किराती पुर्खाहरुमा बाँची रह्यो भन्न गाह्रो छ । नेपालकै बुटवलको तिनाउ खोलामा ११ लाख बर्ष पुरानो प्राग ऐतिहासिक मानबको अबशेष भेटिनुले सबै मानिसहरु पुर्बी अफ्रिका बाटै बसाई सरेको हो भन्ने मान्यतामा प्रश्न चिन्ह खडा हुन्छ । इथियोपियामा भेटिएको मानबाबशेष १७ लाख बर्ष पुरानो हो भने नेपालमा भेटिएको आजसम्म भेटिएको बिश्व कै दोस्रो पुरानो मानबाशेष हो । मानिसहरुले यो मानबाशेष राउटे, चेपाङ लगायतका आदिम किराती जातीको हुन सक्ने अनुमान लगाएका छन् । २२,००० बर्ष पुराना प्राग ऐतिहासिक ढुंगे हतियारहरु चुरे पहाड तिर भेटिएको छ । यसले पनि नेपाली भुखण्डमा धेरै अघि देखि मानब बसोबास थियो र किरातीहरु यहि भुमीमा उत्पती भएको तिर इंगित गर्दछ । भलै बर्तमान किरातीहरुमा अन्तरघुलनको कारण पुर्बी अफ्रिकाबाट आएका मानिसहरुको जीन मिश्रित भएको किन नहोस, किरातीहरु यहि भुमिमा उत्पन्न भएका भुमीपुत्र हुन् भन्ने बलियो आधारहरु छन् ।
श्रृष्टी कथाको अर्को भाग
रिभ्याँमा र रिकापाले आफ्नो बाल्यकाल शिकार, माछा र कन्दमुलहरु खाँदै त्यहि बिताए । रिकापा भने दिदी रिभ्याँमालाई एक्लै छाडि नियामाबाट पहाडतिर उक्लियो र त्यहि बस्न थाल्यो । रिकापा पहाड चढी बसेको त्यो स्थान नै संखुवासभा क्षेत्र, साल्पा पोखरी र सिलिचुङ क्षेत्र थियो । यसरी रिभ्याँमा मैदानमा र रिकापा पहाडमा खेल्दै खाँदै हुर्किए र जवान भए । यसरी एक्लै मैदानमा डुली हिडेको जवान रिभ्याँमालाई एक दिन बिहे गर्ने कुरा मनमा आयो । उनी बसेको मैदानतिर मानिसहरुको कुनै उपस्थिति थिएन । उनको साथी, समाज र इष्टमित्र भनेको नै जीब जन्तु तथा पंक्षिहरु थिए । यसरी अफुलाई सुहाउदो पुरुष मानिस कहाँ पाइएला भनी धेरै दिन सोंच बिचार गर्दा कतै केहि पत्तो लागेन । अन्ततः उनले यस बिषयमा कसै संग कुरा गर्ने निधो गरिन् । एक दिन रिभ्याँमाले तारे चरा खोलै खोला तिउँ तिउँ कराउदै उड्दै गरेको देखिन् । अनि त्यहि तारे चरालाई बोलाई कुरा गरिन् । “तारे चरा म अब जवान युबती भएँ । बिहे गरी घरजम बसाउने रहर लागेको छ । तिमीले कतै मलाई सुहाउने जवान युवा बारे थाहा पाएका छौ ?” तारेचराले भने, “बजै त्यस्तो जवान युवा त मैले कतै देखेको छैन तर माथि लेक तिर एक जना छन् अरे भन्ने चै सुनेको छु । सत्य कुरा के हो त्यो चै थाहा छैन ।” “त्यसो भए लेकतिर गएर त्यो युवालाई भेटी फकाएर मेरो श्रीमान् बन्न लिएर आइदेउ है ।” भनी रिभ्याँमाले तारेचरालाई अनुरोध गरिन् । तारेचराले पनि यो प्रस्ताबलाई स्विका¥यो ।
रिभ्याँमाले तारे चरालाई लमीको रुपमा मान मनितो गरी निधारमा एउटा ढ्याके पैसा लागाइ दिएर लेक तिर पठाइन् । त्यसैले तारेचराको निधारमा आज पनि ढ्याके पैसाको तारा रहेको बिश्वास गरिन्छ । तारे चरा खोलै खोला लेक तिर लाग्यो र खोलाको शीरसम्म पुग्यो तर कतै त्यो युबा मानिसलाई भेटेन । पानी भएको खोलै खोला हिड्ने तारेचरा खोलामा पानी नभए पछि त्यहाँ भन्दा माथि जान सकेन । त्यस पछि फिरेर खोलाको शीर सम्ममा पनि युबा मानिसलाई नभेटेको खबर रिभ्याँमालाई सुनायो । अब के गरौं कसो गरौं भनि रहेको बेला रिभ्याँमाले एउटा गंगटा गंगरङ गंगरङ हिड्दै गरेको देखिन् । अनि गंगटालाई बोलाएर भनिन्, “तारेचरालाई समाचारी लमी बनाएर माथि लेक तिर बर खोज्न पठाएको तर खोलाको शीर भन्दा माथि जान नसकेर फर्कि आयो । अब फेरी तिमी दुबै जना केटा र केटी पटिको लमीको रुपमा लेक गई त्यो मानिसलाई लिएर आऊ ।” गंगटाले पनि त्यो प्रस्ताब स्विका¥यो । यसरी गंगटालाई पनि लमीको सम्मान स्वरुप औंठी लगाइदिएर दुबैलाई लेक तिर पठाइन् । त्यसैले गंगटाको औंलामा आज पनि औंठी देखिन्छ । त्यो त्यसै बेलाको औंठी हो भन्ने मान्यता छ ।
गंगटा र तारेचरा खोलाको शीरसम्म त संग संगै पुगे तर त्यहाँ भन्दा माथि पानी नहुँदा तारेचरा अघि बढ्न सकेन । गंगटा भने कोतर्दै कोतर्दे माथि माथि चढ्न थाल्यो । जहाँ जहाँ पानी भेटियो त्यहाँ त्यहाँ कोतर्दै पानी खोल्सी तिर फर्काउदै गंगटा माथि चढ्थ्यो । पानी आए पछि तारे चरा पनि पानी पछ्याउदै माथि चढ्यो । यसरी अन्ततः उनीहरु त्यो युबा मानिस भएको ठाउँमा पुगे । त्यो ठाउँ अबश्य नै साल्पा सिलिचुङ थियो । त्यो युवा मानिस अरु कोहि नभई रिकापा नै थिए । गंगटा र तारेचराले आफुहरु रिभ्याँमाको कुरा लिएर लमीको रुपमा आएको बृतान्त रिकापालाई सुनायो । रिकापाले पनि लमीहरुको कुरा मान्यो र तल बेसिं मैदानमा उनीहरु संगै झ¥यो ।
मैदानमा रिकापा र रिभ्याँमाको बोल बात भयो । कुरा छिनियो र दुबैले राजी खुसी जोडी बाधे । उनीहरुले गंगटा र तारेचराको शिर उभ्याउनी रीत गरी बिदा गरे । तर गंगटालाई सिर उभ्याउनी चित्त बुझेन र रोरे गरिरह्यो । त्यसैले उसलाई शिर उभ्याउनीमा थप एउटा खड्कुलो दिए । गंगटाले खड्कुलो ढाडमा बोकेर लाँदै गर्दा पनि चित्त नबुझेको झैं गरी ढुंगोको चेप भित्र पस्दै गरेको रिभ्याँमाले देखिन् । यसरी सारै सशन्तोष गरेको देखेर रिभ्याँमाले गंगटालाई दाउराले ढाडमा घोचि दिइन् । यसले गर्दा ढाडमा बोकेको खडकुलो कुच्चियो । आज पनि गंगटाको ढाडमा भएको खबटामा कुच्चिएको देखिन्छ । त्यो त्यसै घट्नाको परिणाम भन्ने मानिएको छ । गंगटाको खबटा चैं रिभ्याँमा र रिकापाले थप दिएको शिर उभ्याउनीको खड्कुला हो भनिन्छ ।
यसरी जोडी बाँधेको केहि बर्ष पछि उनीहरुको एक छोरी पैदा भइन् । छोरीको नाम नाइम्मा थियो । नाइम्मालाई नै सुम्निमा वा सुम्दिमा पनि भन्ने गरिएको छ । एक दिन रिभ्याँमा पानी लिन गएर घर फिर्दै थिइन् । रिकापा भने नानी खेलाउदै थिए । रिभ्याँमा घर बाहिर आइपुग्दा रिकापाले छारीलाई, “तिमी एक हिसाबले मेरो छारी हो, अर्को हिसाबले भन्जी हो ।” भन्दै खेलाउदै गरेको कुरा सुनिन् । यस्तो कुरा सुनेर रिभ्याँमा छक्क परिन् । घर भित्र गएर छोरीलाई किन भान्जी पनि हो भनेको भनेर केर कार गरिन् । तर रिकापाले होइन केहि पनि होइन भनी टारि रह्यो । रिभ्याँमाले जिद्धी गर्न थाले पछि उनी उठेर जंगल तिर हिड्यो । बास्तबमा रिभ्याँमा र रिकपा दिदी भाई थिए । त्यो हिसाबले नाइम्मा रिकापाको भन्जी पनि थियो छोरी पनि थियो । यो कुरा रिकापालाई थाहा थियो तर रिभ्याँमालाई भने उनीहरु दिदी भाई हो भन्ने कुरा थाहा थिएन । उनलाई आफ्नो भाई कहाँ कसो भयो थाहा थिएन । रिकापा अरु नै पुरुष हुनु पर्छ भन्ने उनको ठम्याई थियो । यसरी आफ्नै सहोदर दिदीसंग थाहा पाई पाई संगसर्ग गरेको लाज गालको कारण रिकापा जंगल तिर बँदेलको चोला लिएर अलप भए ।
यसरी रिकापा अलप भए पछि रिभ्याँमाले जेन तेन नाइम्मालाई हुर्काउदै पतिको प्रतिक्षा गर्न थालिन् । नजिकैको जंगलमा कागुनी लगाएकी थिइन् तर संधै एउटा बंदेल आएर कागुनी नष्ट गर्ने काम गर्दथ्यो । यसबाट दिक्दार भएर एक दिन पासो थापेर आइन् । भोली गएर हेर्दा पासोमा बंदेल परेर मरेको रहेछ । त्यस बदेललाई घर ल्याई बनाई तुल्याई रिभ्याँमाले खाइन् । हड्डी कुड्डी पाखा तिर फालिदिइन् । बाँकी रहेको आन्द्रालाई बनाई तुल्याई भारमा सुकाइन् ।
एक दिन सुकाएको आन्द्राबाट सलपाको रुपमा रिकापा प्रकट भयो । रिकापालाई देखेर रिभ्याँमा खुसी भइन् र कहाँ कता अलप भएको भनी सोधि खोजी गरिन् । रिकपालाई बंदेलले गरेको सबै उधुम बारे बताइन् र बंदेललाई मारेर खाएको बृतान्त सुनाइन् । तब रिकपाले त्यो बंदेल अफु भएको र रिभ्याँमाले आफ्नै लोग्नेको मासु खाएको बतायो । यो सुनेर रिभ्याँमा अक्क न बक्क भइन् र भारमा सुकाई राखेको बंदेलको आन्द्रालाई फलिदिइन् । यसरी बंदेलको आन्द्राबाट किराती आदी पिता रिकपा सालपाको रुपमा प्रकट भएको हुनाले किरातीहरुले सुंगुरको आन्द्रा खाँदैनन् । पहिले रिकापा र रिभ्याँमा माइती चेली भएको र अब सालपाको रुप धारण गरे पछि कुटुम्बेरी भएको भन्ने कुरा सालपाले रिभ्याँमालाई बतायो । त्यस पछि उनीहरुको संबन्ध चेली माइती होइन लोग्ने स्वस्नीको भयो । यिनै रिकापाको दोस्रो रुप सालपाको नाममा साल्पा पोखरीको ना रहन गएको हो ।
टिप्पणीः
मुन्दुममा इतिहास कालमा ढुंगा माटो, बन पाखा, बोट बिरुवा, जीब जनावार सबै बोल्दथे भन्ने बिश्वास छ । आज पनि किरातीहरु सबै सजिब र निर्जिब चिजहरुमा जीबन छ भन्ने मान्दछन् र प्रत्येक चिजको आफ्नो बिशिष्ट ब्याक्तित्व सहित अस्तित्व छ । सबै बस्तुले केहि न केहि बिचार ब्याक्त गरिरहेको हुन्छ । यहाँ यहि मान्यताको साथ नै तारे चरा र गंगटा रिभ्याँमाको लमी भएको भन्ने प्रसंग आएको हुनु पर्दछ ।
यहाँ ढ्याके पैसाको चर्चाले पैसा भएको जमाना तिर इंगित गर्छ । यस भेगमा पैसाको प्रचलन २५०० बर्ष अघि तिर भएको पाइन्छ तर किराती बंशावलीलाई नियाल्ने हो भने रिकापाको समय ५००० बर्ष अघिको प्रतित् हुन्छ । यसले गर्दा कि रिकापाको समयामा पनि पैसाको प्रचलन थियो भन्ने मान्नु पर्ने हुन्छ कित मौखिक रुपमा भन्दै आएको मुन्दुम श्रृष्टी कथा पैसाको प्रचलन पछि प्रभाबित भएको हुनु पर्दछ । यहाँ औठीको उल्लेख हुनुले धातुको प्रचलन भैसकेको युग भन्ने अर्थ लाग्दछ भलै गैर धातुको समेत औंठी नहुने चै होइन ।
यसरी प्रत्येक चिज किन कसरी भयो भन्ने बारेमा किरातीहरुको आफ्नो छुट्टै मिथक हुने गरेको छ । कारण र असरको दार्शनिक मान्यता किराती मुन्दुमामा पाइन्छ । यहाँ फेरी धातुको नै खड्कुला समेत प्रयोग भएकोले यो अबश्य पनि धातुको युग थियो । गंगटालाई प्रतिकात्मक रुपमा लमीको रुपमा लिइएको हुनु पर्दछ । साल्पा सिलिचुुङ जस्तो लेकमा गंगटाले खनेर मात्र पानी उब्जाउन सक्दछ भन्ने किराती पुर्खाहरुको अनुमान हुन सक्दछ । खेतीपातीको प्रचलन हलेशीमा रैछाकुले सुरु गरेको भन्ने भनाई छ । यो परिघट्ना रैछाकुले भन्दा अघिको हो । त्यसैले त्यो भन्दा अघि पनि अब्याबस्थितै सहि खेती लाउने प्रचलन सुरु भएको अनुमान लाउन सकिन्छ ।
रिभ्याँमा नानासंग सुतेर जन्मेको हुनाले छोरीको नाम नाइम्मा भएको भनाइ पनि छ । यसरी आदिकालमा किराती मात्र होइन सबै मानब जातीहरु परिवार भित्रै बिहेबारी गर्दथे भन्ने प्रमाण मिल्दछ । यसै अबशेषको रुपमा मामा चेला फुपु चेला बिहेबारी हुने चलन कतिपय नेपाली समुदायमा अझै पनि छ ।
यस भन्दा अघि परवार भित्रै संगसर्ग गर्ने प्रचलन भएकोमा सालपाको पाला देखि कुटुम्बेरी बीचमा मात्र यौन सम्बन्ध राख्ने बिबाह र परवारको प्ररम्भिक चरण सुरु भएको हुनु पर्दछ । किरातीहरुमा कुटुम्बेरी छुट्याउन सामै तथा पाछा छुट्याउने प्रचलन पनि यहिं परिघटनाको निरन्तरता हुनु पर्दछ । यसरी रिकापाको अर्को नाम नै सालपा हो । सालपा र रिभ्याँमा लाई नै अपभ्रंश बस साल्पै राजा साल्पै रानी भनिएको हो । यसै भएकोले साल्पा सिलिचुङ किराती श्रृष्टीको केन्द्र हो । उनीहरुको नाममा नै पोखरीको नाम साल्पा रहन गएको हो । रिभ्याँमालाई कतै रिबृमा र कतै रिब्लिमा पनि भन्ने गरिएको छ । सालपालाई कतै कतै सालिपा पनि भनिन्छ ।
किराती भाषामा सिली भनेको नाच र चुङ भनेको चुचुरो हो । संभबतः सिलिचुङमा सालपा बस्दा नाच्ने गर्दथे । त्यसैले यो स्थानको नाम सिलिचुङ रहन गएको हुनु पर्दछ । यसको टुप्पोमा पनि सानो पोखरी छ भन्ने बिश्वास छ तर त्यो पोखरीलाई जो कोहिले देख्न सक्दैन । इतिहासमा र केहि हदसम्म बर्तमान अबस्थामा पनि यस सिलिचुङबाट छितिजमा देखिने सम्पुर्ण भुभागहरुमा किराती आवाद थियो । त्यसैले भौगोलिक रुपमा पनि यो किरातीहरुको शीर हो ।
साल्पा
धेरै पहिले बर्तमान पुर्बी नेपालमा रहेको किरात भुमीमा आदी किराती पुर्खा सालपा नाम गरेको एक राजा र रिभ्याँमा नाम गरेको उनकी रानी बस्दथे । आफ्नो दैनन्दिनको कामबाट दिक्दार भएर एक दिन ती किराती राजा र रानी लेकतिर हालको साल्पाको भ्रमणमा निक्लिए । उनीहरुको जोडी बाँधिनु अघि सालपा रिकापाको रुपमा त्यहि लेकको साल्पा र सिलिचुङ तिर बस्दथे भने रिभ्याँमा तल बेसी तिर बस्दथिन् । त्यसैले सालपालाई आफ्नी रानीलाई अफुले बाल्यकाल गुजारेको रमाइलो डाँडा, पाखा पखेरा, बन पात र पोखरीहरु देखाउन चाहन्थे । यसरी लेक तिर उक्लिंदै जाँदा रानीलाई टाउको दुख्ने तथा बेहोसी हुने बिमारीले समात्यो । रानीको किन टाउको दुख्यो भनेर राजा चिन्तित भए । उनीहरु जसै लेकको एक पोखरी (हालको साल्पा पोखरी) पुगे, नाटकिय रुपमा रानीको टाउको दुख्न निको भयो । त्यस समय उक्त पोखरी निकै ठुलो थियो । शान्त बाताबरण, स्वच्छ पानी र रानीको बिमारी पनि निको भए पछि राजा रानी दुबै खुसी भए । रानी कञ्चन पानी संग खेल्न थालिन् भने राजा पोखरी वरपर के कस्तो रैछ भनी जाँच परख गर्न थाले ।
यति कै मा पोखरीबाट ठुलो नाग निक्लिएर रानीलाई क्वप्लक्कै निली पोखरीमा डुब्यो । त्यसरी रानीलाई नागले निलेको राजाले देखेन । पोखरी वरीपरि टहली फर्केर अउँदा रानी नदेखेर राजा अत्तालियो । रानीको बेहोसी हुने बिमारी फेरी सुरु भएर कतै गई होलिन भनेर राजाले यता उता खोजे । तर रानी कतै भेटिइनन् । उनको प्रिय रानी हराएकोमा राजा अति दुखित भए । उनले भीर पाखा, झोर जंगलमा कैयौं दिन रानीलाई खोजे तर रानी भटिइनन् । त्यसैले उनी निरास भएर आफ्नो दरबारमा फर्किए । कतै हराएकी रानी भेटि पो हालिन्छ कि भनी राजा समय समयमा उक्त पोखरी गइरहन्थे तर उनी मरुन्जेल सम्मै रानी भेटिएनन् ।
टिप्पणीः
संभबतः ती तल बेंसी तिर बस्ने रानीलाई ३५५० मिटर भन्दा उचाईको डाँडातिर लेक लागेको थियो होला । पोखरी पुग्नु अगाडीको डाँडा भन्दा पोखरी १०० मिटर जती तल पर्दछ । लेक लाग्दा ५०–१०० मिटर तल ओर्लिनाले हावाको दबाब र अक्सिजनको मात्रा बढ्नाले पनि बिषेक हुन्छ । संभबतः ती किराती रानी त्यहि कारणले निको भइन । राजा र रानी ४१५५ मिटर अग्लो सिलिचुङ चढेको हुन सक्दछन् । त्यसै कारण रानीलाई बढि लेक लागेको पनि हुन सक्दछ ।
यहाँ नागले साल्पा रानीलाई निलेको कथन छ । संभबतः यो उचाईमा नाग थिएन होला तर प्रत्येक पानीको स्रोतमा नाग नगेनी हुन्छ भन्ने किराती बिश्वासको कारण रानी हराउँदा राजालाई नागले निलेको भन्ने परेको हुन सक्दछ । यस पोखरी वरिपरी अक्करे भिरहरु छन् । त्यसैले रानी पनि वरपर टहल्न वा शौच गर्न जाँदा भिरबाट धेरै तल खसेर राजाले पत्तो नापाएको पनि हुन सक्दछ ।
अर्को कथा यसरी पनि अघि बढ्दछ ।
प्राचीन समयमा संखुवासभामा रही एक किराती राजाले शासन गर्दथे । त्यो किराती राजा आदी किराती पुर्खा सालपा र रानी रिभ्याँमा थिए । त्यहाँ उस्को अति सुन्दर दरबार थियो । एक दिन कैलासबाट मधेस तिर भ्रमणमा निक्लँदा महादेउले उक्त दरबार देखे र औधि मन पराए । दरबार देखि लोभिएर उस्ले किराती राजाको उक्त दरबार हात पार्न बिभिन्न जालहरु रच्न थाले । यसै सिलसिलामा उस्ले किराती राजाको स्वास्थमा गडबड गराउन सफल भए । त्यसैको नतिजा स्वरुप किराती राजालाई पिनासले समात्यो र सारो बिरामी पा¥यो । यसै बेला भिक्षुको भेष धारण गरेर महादेउ दरबार हुँदै तल माथि हिडि रहँदो रैछ । उक्त भिक्षुलाई देखेर राजा तथा रानीले स्वास्थ सुधारको निम्ति केहि गरिदिन अनुरोध गरे । यसको निम्ति राजाले दरबार तुरुन्तै छाड्नु पर्ने नत्र भने ज्यान नै खतरामा पर्ने सुझाब भिक्षुबाट प्राप्त भयो ।
भिक्षुको सल्लाह अनुसार रानीलाई दरबार मै छोडी किराती राजा मधेस तिर लागे । राजाले दरबार छोडे पछि भिक्षुको रुपमा रहेको महादेउले ठुलो पानी पारी डरलाग्दो बाढिको सिर्जना गरी संखुवा खोला उत्पन्न गराए । त्यस खोलाको बाढीले त्यस क्षेत्र नै तहस नहस भयो । यता रानीको बिजोग भयो, गाँसबास कै समस्या भयो । यस्तो अबस्थामा रानीलाई खेदी महादेउले किराती दरबार हत्याई त्यो क्षेत्रमा राज गर्न थाले । यसरी राजा पनि नहुनु, दरबार गुमाउनुले रानीले सारै दुख पाइन् । उनी रोइन् कराइन् तर उन्को बिलौना सुनेर सहयोग गर्ने कोहि भएन । अन्ततः उन्ले किराती राजा कता छन् भनी रुख, खोला, पोखरी, चरा, जनावरहरु लाई सोध्दै खोज्न थालिन् । यसरी लामो समय सम्म खोज्दा पनि राजाको अत्तो पत्तो लागेन । उनी हतास, निरास तथा थकित भइन् र सो स्थान छाडेर हिडिन् । राजालाई पुकार्दै, खोला, रुख, हावा, चराहरुलाई आफ्नो अबस्था र दरबार बगाएको बारे राजाको निम्ति समाचार छोड्दै अरुण कोशी तरिन् । यसरी यात्रा गर्दा रानी थाकिन् र पानी पिएर ढुंगोमा ढल्किइन् । कुनै स्थानमा रानीले राजालाई रानी गएको स्थान पत्ता लगाउन सजिलो होस भनी पैतालाको डोब छाडिन् । त्यो डोब नै पैताला आकारको पोखरी भयो । यस्ता पैताला आकारको पोखरीहरु उक्त क्षेत्रमा रहेको जन बिश्वास छ (संभबतः संखुवासभाको साल्पा धाम क्षेत्रमा) । धेरै समयको यात्रा पछि रानी दोभाने फेदी पुगिन् । त्याहाँबाट पनि उकालो लागेर अन्ततः साल्पा पोखरी पुगिन् । सालपाले खाई खेलि हिडेको साल्पा पोखरी पुग्दा राजा भेटिने ठुलो आसाको साथ कठिन् यात्रामा निक्लिएको रानी त्यहाँ पनि राजा नभेटिए पछि पुरै निरास भइन् । उक्त पोखरीमा नागदेउ बस्दथ्यो । रानीले सारै दुख पाएको देखेर नागदेउले रानीसंग बिबाह गर्ने प्रस्ताब राख्यो । अन्ततः जिन्दगी देखि हार खाएको रानीले अन्तिम बिकल्पको रुपमा नागदेउ संग बिबाह गर्ने मञ्जुरी गरी बिबाह गरे ।
जब राजा स्वास्थ लाभ गरी फर्किए, उन्को दरबार अर्कै शत्रुको कब्जामा थियो भने रानी पनि लापत्ता थियो । सोधि खोजी गर्दै जाँदा बर पिपलको रुखले रानी र दरबार बारे घटेको सबै घट्ना सबिस्तार बताए । खोला, रुख, पानी, हावा, चरा र जनावरहरुले रानी गएको दिशा बताइ दिए । राजा तुरुन्तै त्यो दिशातिर रानीको खोजीमा निक्लिए । जाँदा जाँदा बाटोमा पोखरीको रुपमा रानीको पैतालाको डोब भेटियो । रानी अबस्य भेटिने आसमा राजा अझ छिटो अगाडि बढ्यो । यसरी रानी खोज्दै जाँदा जौंबारी भन्ने ठाउँमा राजाले अग्लो ढुंगा ठडिएको भेट्यो । उ उक्त ढुंगामा चढेर रानीलाई चारैतिर खोज्न थाल्यो । यसरी खोज्दा टाढा रानीको टाउको मात्र देखियो । उस्ले त्यस माथि अर्को ढुंगा थपेर हेर्दा रानीको माथिल्लो आधि भाग देखियो । आज पनि जौंबारीमा अग्लो ढुंगा माथि अर्को ढुंगा थपिएको अबस्थामा छंदै नै छ ।
जब राजा साल्पा पोखरीमा पुगे रानीलाई ठुलो नागले बेह्रिरहेको थियो । राजाले रानीलाई नागबाट छुटाउन खोजे तर रानीले इन्कार गरिन् । रानीले अफु नागसंग बिहे गर्न मञ्जुर भएर बिहे गरेको राजालाई बताइन् । उनलाई छुटाए नागले डसेर राजालाई मार्न सक्ने खतरा बारे पनि राजालाई सचेत गराइन् । यो सुनेर राजाले पनि जोर जबर्जस्ती गरेन । रानीले साल्पा पोखरीबाट एउटा कुखुराको भाले निकालेर राजालाई दिइन् । यो भाले लिएर जाँदा जहाँ बास्छ त्यहाँ सम्म तिम्रो राज्य बिस्तार हुनेछ भनी रानीले राजालाई बचन दिइन् । त्यस पछि रानी र नागदेउ साल्पा पोखरी भित्र अलप भए । अति खिन्न मन लिएर राजा भाले जता जान्छ उतै पछ्याउर्दै त्यहाँबाट हिंडे । यसरी भालेसंग लामो दुरी तय गरी उनीहरु काठमाण्डु आइपुगे । त्यहाँ उक्त भाले बास्यो । त्यसैले किरात राज्य पुर्ब टिष्टा देखि पश्चिम त्रिशुली सम्म फैलिएको थियो । कालान्तरमा उनै साल्पा राजाका सन्तन किरातीहरुले काठमाण्डु उपत्यकाबाट शिला (भुमे, साकेला), पितृ र प्रकृति पुज्दै ३२ पुस्तासम्म तत्कालिन पुरै नेपालमा शासन गरे । उनै किराती राजा रानीको बियोगान्त घटनाको आधारमा किराती पुर्खाहरु साल्पै राजा साल्पै रानीको नाममा साल्पा पोखरी किरातीहरुको सबै भन्दा ठुलो किराती पितृ धाम हुन गएको हो ।
टिप्पणीः
यहाँ महादेउको उल्लेख भएको छ । महादेउ अबश्य किराती पितृ देउ होइन तर किरातीहरु लामो समय देखि नै महादेउको सम्पर्कमा रहेको देखिन्छ । महादेउ द्रबिडहरु जो पछि हिन्दु भएकाहरुको इष्टदेउ हुनु पर्दछ । उनीहरु संग किरातीहरुको प्राचीनकाल देखि नै सम्पर्क रहेको हुनाले यस घटनामा पनि महादेउले स्थान पाएको हुनु पर्दछ । भिक्षु भनेर बौद्ध भिक्षु नभई अन्य भिक्षु संभबतः भोटबाट आएको कुनै ब्याक्ति हुनु पर्दछ । यहाँ उल्लेखित किराती राजा र रानी अरु कोहि नभै रिकापा र रिभ्याँमा नै हुन् जस्लाई कालान्तरमा साल्पै राजा साल्पै रानी भनियो । त्यसैले यो ५००० बर्ष भन्दा अघिको प्राचीन घटना हो ।
उनीहरुको एउटा नाइम्मा नाम गरेकी छोरी थिइन् । यो घटना नाइम्माले पारुहँ संग बिहे गरी गइ सके पछिको प्रतित हुन्छ । फेरी त्यो जमानामा परिवार संग बसि रहने चलन पनि थिएन । अतः दरबारका अन्य सदस्य भनेको रानी आफैं हुनु पर्दछ । त्यो जमाना बिबाह भन्दा पनि को संग बस्ने र यौन संबन्ध राख्ने भन्ने हुन्थ्यो । औपचारिक बिधि बिधान साथ बिहे गर्ने प्रचलन थिएन तर जोडी बाँध्ने चलन भने सुरु भएको देखिन्छ ।
जौंबारी, दोभाने जस्ता ठाउँका नामहरु प्राचीन नाम होइनन् । कथालाई भौगोलिक सन्दर्भ दिन बर्तमान नामहरु उल्लेख गरिएका हुन् । यो घट्ना घट्दाको समयमा यी स्थानहरुको कुनै नाम थिएन होला ।
लिखित संस्कृति नभएको अबस्थामा एकै परिघट्नाको बिभिन्न मिथकहरु हुनु स्वभाबिक हो । यी मिथकहरुको बैज्ञानिक बिश्लेषण गरिनु पर्दछ । यी सबै मिथकहरुलाई मान्यता दिएर यसमा रहेका राम्रा पक्षहरुलाई संश्लेषण गर्नु पर्दछ । यथासंभब ऐतिहासिक तथा पुरातात्विक अन्बेशाणद्वारा यी मिथकहरुको आधिकारिकता खोजिनु पर्दछ ।
यस प्रकारको बियोगान्त प्राचीन घट्ना संग यो पोखरी जोडिएको छ ।सालपा राजा र रानीको बियोगान्त कथासंग जोडिएको हुनाले उक्त पोखरीको नाम पनि साल्पा रहन गएको हो । यसरी यस पोखरी साल्पै राजा साल्पै रानीको प्रतिक हुन गयो । यसै कारण आम किराती तथा गैर किरातीहरु उक्त स्थान र नजिकै रहेको सिलिचुङमा सक्दा सालै पिच्छे नसक्दा जीवनमा ३ चोटी जानु पर्दछ भन्ने मान्यता राख्दन् । सालपा राजाले उक्त स्थान संधै गइरहने कारणले यो प्रचलनको सुरु भएको हुनु पर्दछ । मानिसहरु उक्त स्थानमा बर्षै भरी जाने गर्दछन् तर भदौरे, मंसिरे र बैशाखे पुर्णिमाको दिन बिशेष मेला लाग्ने गर्दछ । उक्त स्थानमा गए पितृशक्ती प्राप्त हुने जन बिश्वास छ ।
महिमा
संसा। भरीका किराती र पुर्बी नेपालमा बस्ने गैर किरातीहरु बीचमा साल्पा सिलिचुङको महिमा ठुलो छ । साल्पा पोखरीमा नुहाएमा सबै दुख बिमार हराउने बिश्वास छ । मन तथा तनमा शान्ती तथा सुस्वास्थ मिल्ने बिश्वासको कारण हजारौं मानिसहरु यस पोखरीमा नुहाउन आउछन् । सिलिचुङमा चढे पितृहरुको सन्निकट पुगी मन चंगा हुने मान्यता छ । किराती धामीहरु भदौरे पुर्णे (किराती गुरु पुर्णे) को दिन गुरु पुजाको निम्ति साल्पा जाने चलन छ । यस दिन सालपा राजा र रानीको बिशेष पुजा सेवा गरिने हुनाले यस दिनलाई सालपा दिबस पनि मान्न सकिन्छ । सै राजा सै सै, सै रानी सै सै भनी साल्पा राजा रानीलाई बल तथा बुद्धि मग्ने चलन छ । साल्पा राजा र रानी किराती धामीहरुको गुरु पनि हुन् । त्यस्तै गरेर मंसिरे पुर्णे (उधौली साकेला) को दिन पनि पाकेको बालीहरु साल्पा पोखरी लगी किराती पितृलाई चढाउने लाने चलन छ । यहाँ नयाँ अन्न, फलफुल, अण्डा आदि चढाइन्छ । बैशाखे पुर्णे (उभौली साकेला, चण्डी पुर्णे)मा समेत तिर्थयात्रीहरुको भिड लाग्ने गर्दछ ।
साल्पा पोखरीमा कोक्रो लगेर स्नान गरी सन्तान मागे प्राप्त हुने जनबिश्वास छ । सन्तान प्राप्त भए पछि साल्पा राजा रानीलाई देखाई धन्यबाद दिन जाने चलन छ । किरातीहरु सम्भब भए सालै पिच्छे नभए कम्तिमा जीबनमा ३ पटक साल्पा सिलिचुङ पुग्नु पर्छ भन्ने मान्यता राख्दछन् ।
जनविश्वास अनुसार साल्पाको पश्चिमी वा पुर्वी भागको पानीको निकासमा मात्र कम भएमा त्यो कम भएको क्षेत्रमा बाढी पहिरो अनिकाल भय सिर्जना हुने सम्भावना हुन्छ भनिन्छ । वैशाख पुर्णिमा वा उभौली मासमा यस्तो भएमा ती कुरा हुने विश्वास गर्ने गरिन्छ । दीर्घ जीवन प्राप्त हुने बिश्वासमा जोडि परेवा छोड्ने चलन छ ।
कुनै पनि ब्याक्तिलाई अप्ठ्यारो आइ परेको खण्डमा उक्त ब्याक्तिको सातो सुरक्षित रहनको लागि पितृ थलो साल्पा सिलिचुङ जाने गर्दछ भन्ने बिश्वास छ । नछुङहरुले पितृहरु संग बल तथा सल्लाह मागी उक्त ब्यक्तिको अप्ठ्यारो समयलाई हटाई सातो फिर्ता गराइ दिने चलन छ । बल, बुद्घि, बिबेक, स्वास्थ, धन प्राप्तीको लागि र ब्याबशायिक सफलताको लागि साल्पा सिलिचुङ जाने गरिन्छ । खडेरी परे पानी पार्न तथा घर पालुवा जनावरको रक्षाको लागि पनि गइन्छ ।
साल्पा पोखरी परिसरमा फोहोर मैला वा दिसा पिसाब गरेमा हुरी बतास चल्ने, चट्याङ पर्ने, असिना बर्षने जनबिश्वास छ । यो पोखरीमा एक्लै जान नहुने मान्यता छ । एक्लै गए ठुलो पानीको छाल उठ्ने, पानी बगेको आवाज आउने, डरलाग्दो आवजहरु आउने स्थानीयबासीहरुको अनुभब छ । भदौरे पुर्णेको दिन दुध, चामल र खिर चढाइन्छ । त्यस दिन पोखरी सेतै भएको तथा चढाएका बस्तुहरु नागले खाएको स्थानीय बासीहरुले अनुभब गर्दछन् । अझै नाग पनि पोखरीमा नै रहेको जनबिश्वास छ ।
बिशेषतः साल्पा सिलिचुङ किराती पितृधाम भए पनि हाल आएर किरात भुगोलमा बस्ने सबैको बहु साँस्कृतिक केन्द्र बनेको छ । आदि किराती पुर्खाहरु साल्पा राजा र रानी प्रति सबै जातीको श्रद्धा र भरोसा पाइन्छ । यो संसार भरीकै किरातीहरुको आस्थाको केन्द्र हो । यो दायरा अझ बृद्धि भई पुर्बी नेपालको देखि काठमाण्डु उपत्यकासम्म, तिब्बत, भुटान र भारतका सिक्किम, पश्चिम बंगाल र बिहारका गैर किरातीहरुको समेत आस्थाको केन्द्रको रुपमा बिकास हुँदै गइरहेको छ ।
हिन्दुहरुमा जीबनमा एक चोटी साल्पा पोखरी पुग्नु नै पर्ने मान्यता छ । स्वर्गमा साल्पा पोखरी गइस्, भनेर सोधनी हुने नगएको खण्डमा राम्रो स्थान नपाइने उनीहरुमा बिश्वास छ । साल्पा पोखरीमा नुहाए गंगामा नुहाएको जति कै मोक्ष मिल्ने हिन्दुहरुको बिश्वास छ । त्यस स्थलबाट बसाई सरी टाढा टाढा गएका मगर लगायतका गैर किरातीहरुले पनि सपनामा साल्पा राजा र रानीलाई भेटी उनीहरुको सल्लाह मुताबिक यहाँ अउने गर्दछन् ।
किराती धामीहरुको पितृ गुरु भए पनि साल्पा राजा साल्पा रानी किराती भुगोलको सबै जातीको धामीहरुले पनि गुरु नै मान्ने गरेकाछन् । उक्त क्षेत्रमा भएका गैर किराती धामीहरु बाहुन, क्षेत्री, दलित, मगर, तामाङ, शेर्पाहरु समेत साल्पा राजा साल्पा रानीलाई गुरुको रुपमा पुजा गर्न भदौरे पुर्णेको दिन साल्पा पोखरी पुग्ने गर्दछन् । साल्पालाई किराती क्षेत्रको पोखरी र मुलहरुको शीर पनि मानिन्छ । जस्तै बाराहा पोखरी, साल्पाधाम, सल्ले पोखरी, लैकु खोला, भुलभुले, रौता पोखरी को शीर साल्पा पोखरी हो भन्ने मानिएको छ । साल्पा नपुगे पनि किराती तथा गैर किराती धामीहरुले उक्त स्थानहरुमा साल्पाको रुपमा गुरु पुजा गर्ने गर्दछन् ।
महत्व
साल्पा सिलिचुङ मकालु बरुण तथा सगरमाथा राष्ट्रिय निकुञ्जको प्राकृतिक बिबिधता युक्त स्थानको सिमानामा पर्दछ । सिलिचुङ आफैमा ४१५५ मिटर अग्लो भ्यु टावर हो । यहाँबाट तराईको फाँट देखि चोमोलुङमा सम्मको दृश्याबोलोकन गर्न सकिन्छ । यो किरातीहरुको आदी पिता रिकापा र माता रिभ्याँमाले खाई खेली हिंडेको किरातीको उत्पती स्थल हो । यो नै किराती श्रृष्टीको उद्गम स्थल किराती श्रृष्टी केन्द्र हो । यस स्थानलाई किरात राज्यको शीर पनि मानिन्छ ।
सिलिचुङमा पाईने प्रशिद्घ बनस्पती सुनपाती र भैरुङ्पाती (चराको रंगिन पुछार जस्तै) ले गर्दा अति शोभनीय देखिन्छ यो ठाउँ । यो किरात समाजमा लोकप्रीय धुपको रूपमा प्रयोग गरिन्छ जस्को वास्नाले आनन्दीत बनाउछ । बिलमाटे भन्ने रमणीय ठाउबाट सिधै लगभग ११ सय मिटरको उचाइको पथ्थरको बिचमा साल्पा पोखरी एक प्राकृतिक आस्चार्य हो । यो उचाईको सिमसारको जैबिक महत्व ठुलो छ । बिसं २०५२ सम्म पनि उक्त पोखरीमा सेता हाँसहरु देखिन्थे हाल उक्त हाँसहरु बिलुप्त भएका छन् । यस्ता अन्य महत्वपुर्ण जैबकि बिबिधताको संरक्षणको निम्ति पनि यो क्षेत्रको छुट्टै महत्व छ ।
साल्पा सिलिचुङमा आस्था राख्ने किराती तथा गैर किरातीहरुको निम्ति साल्पा सिलिचुङको साँस्कृतिक महत्व ठुलो छ । किरातीहरुको सन्दर्भमा यसै स्थानबाट मुन्दुम संस्कृतिको प्रारम्भ भएको मान्न सकिन्छ । प्राचीन किराती इतिहास यहिंबाट सुरु भएको मान्न सकिन्छ । बार्षिक हजारौं साँस्कृतिक तथा प्राकृतिक पर्याटकहरु आन्तरीक तथा बाह्य रुपमा यो स्थान र वरपर भ्रमणमा आउने गरेका छन् ।
उच्च क्षेत्रमा भएको पोखरी र वाटर टावर सिलिचुङको पर्याबरणीय महत्व छ । यस क्षेत्रबाट बिभिन्न नदीहरु उत्पन्न भएको छ । गुराँस लगायतको उच्च स्थानमा हुने बनस्पतीहरुको बन छ । जडिबुटी, थलचर, जलचर र बिभिन्न बनस्पतीले भरिएको जैबिक बिधितायुक्त स्थान हो यो । वरपर किराती तथा अन्य संस्कृति युक्त साँस्कृतिक बिबिधताले भरिएको क्षेत्र पनि हो यो । भौगोलिक रुपमा सम्म फाँट देखि लिएर पथ्थरको भिर रहेको भौगेलिक बिबिधिता यसको अर्को बिशेषता हो । अतः यी तमाम चिजहरुको संरक्षण र बिकास आजको आश्यकता हो ।
तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले चोमोलुङमा चढ्न साल्पा भञ्ज्याङ भएर गएका थिए । त्यस बेला उनीहरुले साल्पा पोखरीको समेत दर्शन गरेका थिए भनिन्छ । यस कारणले गर्दा हजारौं बिदेशी पर्याटकहरु यो बाटो भएर सगरमाथा आधार सिबिर तिर जाने गर्दछन् ।
पश्चिमी मुलुकका बिदेशीहरु तेन्जिङ हिलारी पदमार्गमा हिड्न, मकालु बरुण तथा सगरमाथा राष्ट्रिय निकुञ्ज घुम्न, साँसकृतिक रसस्वदन गर्न र आत्मिक शान्ती प्राप्त गर्न यस क्षेत्रमा आउने गर्दछन् । संसारका किरातीहरु आफ्नो पितृ धाममा आउने गर्दछन् । काठमाण्डु उपत्यका लगायत पुर्बी नेपालका गैर किरातीहरु प्राकृतिक सौंदर्यता र साँस्कृतिक महत्वको लागि यहाँ अउने गर्दछन् । तिब्बत, भुटान, सिक्किम, पश्चिम बंगाल र बिहारका गैर किरातीहरु समेत प्राकृतिक तथा साँस्कृतिक पर्याटकको रुपमा यहाँ आउने गर्दछन् ।
त्यसैले यो क्षेत्रको समुचित बिकास गरी प्रकृति तथा संस्कृति प्रेमी पर्याटकहरुको आगमनलाई बढाउनु र ब्याबस्थित बनाउनु आजको आश्यकता हो ।

No comments:
Post a Comment